अहिले बैंकिङ प्रणालीमा शंकास्पद कारोबार बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ११ २०८०
2.5K
SHARES

११ माघ काठमाडौ ! बैंकिङ प्रणालीमा भइरहेको शंकास्पद कारोबार बाहिर आउन थालेको छ। नेपाल राष्ट्र बैंकले नजिकबाट हेर्न थालेपछि शंकास्पद कारोबारका संख्या पहिलेभन्दा निकै बढेको देखिएको हो। नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदनले शंकास्पद कारोबारका संख्या बढ्दै गइरहेको उल्लेख गरेको छ। गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था र गैह्र वित्तीय संस्थाहरुबाट ३६ अर्ब ३६ करोड बढीको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ।

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका सहितको प्रतिवेदन इकाईमा जानकारी गराएको हो।

प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले ३५ अर्ब ५७ करोड ८७ लाख ५० हजार भन्दा बढी रकम सम्पत्ति शुद्धीकरण भएको आशंकामा वित्तीय जानकारी इकाईमा जानकारी गराएका छन् । यस्तै विकास बैंकले १६ करोड १७ लाख ७० हजार, फाइनान्स कम्पनीले २२ करोड ६४ लाख ७ हजार, जीवन बीमा कम्पनीले ४ करोड ३९ लाख २० हजार, भुक्तानी सेवा प्रदायकबाट १३ हजार, बिप्रेषण कम्पनीबाट ८ करोड ८१ लाख १० हजार र स्टक ब्रोकर कम्पनीबाट २६ करोड २९ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंकामा वित्तीय जानकारी इकाईमा जानकारी गराएको छ ।