अब मिटरब्याजको विवाद प्रहरीले हेर्ने
१६ माघ काठमाडौं । मिटरब्याज सम्बन्धी विवाद अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ । ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझा आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरुपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो ।मन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी संकलन तथा फछ्र्यौटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ, जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउने उल्लेख छ ।
साथै प्रहरीले नयाँ उजुरी पनि लिने छ । कार्यविधिमा भनिएको छ, ‘…उजुरी दिन छुटेको मिटरब्याज पीडितहरुले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ बमोजिम जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने ।’ हाल विचाराधीन र नयाँ दर्ता हुने मिटरब्याजका उजुरीहरुमा प्रहरीले मेलमिलापको प्रयास गर्ने छ । निश्चित समयमा मेलमिलाप हुन नसकेमा आवश्यक प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने कार्यविधिमा उल्लेख छ ।