अहिले विकासको अभियान सुरु भयो – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०
2.5K
SHARES

१९ फागुन नुवाकोट । अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् ।नुवाकोटको बेलकोटगढी नगरपालिका–१ स्थित बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्ती कार्यक्रममा उनले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताए ।

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोना संक्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको उनले उल्लेख गरे । “नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी–व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ,” अर्थमन्त्री महतले भने, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । सेयर बजार उकालो लाग्दै छ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।”

देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारको अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनातर्फ केन्द्रित रहेको अर्थमन्त्रीले बताए । “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ,” उनले भने, “केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”सो अवसरमा अर्थमन्त्रीले विद्यालयका निम्ति आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासका लागि सडकसहितको पूर्वाधार विकासको प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।