एमसीसी परियोजना समयमै सकियोस् – अमेरिकी राजदूत
२७ फागुन काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेर ध्यानाकर्षण गराएका हुन् ।
भेटमा उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।भेटमा राजदूत थम्पसनले संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे ।
‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ,’ राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरू धेरै देश पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे ।
भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले एमसीसी परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए ।जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए ।यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।