आयात र निर्यात दुवै घट्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ६ २०८०
2.5K
SHARES

६ चैत काठमाडौं । नेपालको वैदेशिक व्यापार अझै सुध्रिन सकेको छैन । पछिल्लो समय आयात र निर्यातको व्यापारमा कमी आएको हो ।विशेषगरि आर्थिक गतिविधिमा सुधार आउन नसक्दा नै आयात र निर्यातको व्यापारमा संकुचन आएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पनि आयात र निर्यात दुवै घटेको छ ।

>समिक्षा अवधिमा आयात २.६६ प्रतिशत घटेको छ । चालु आवको ८ महिनामा नेपालले कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो गत आवको फागुन मसान्तसम्मको तुलनामा भने २८ अर्ब १६ करोड २८ लाख रुपैयाँ कमी हो । गत आवको सोही अवधिमा नेपालले कुल १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।समिक्षा अवधिमा नेपालबाट हुने निर्यातको व्यापार पनि ३.९९ प्रतिशत घटेको छ। गत आवको फागुन मसान्तसम्ममा नेपालबाट कुल १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने सवा चार अर्ब घटेको छ । चालु आवको ८ महिनामा नेपालले कुल १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

समिक्षा अवधिमा नेपालले कुल ११ खर्ब ३० अर्ब ८४ कराड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । आयातको तुलनामा निर्यातको व्यापारमा ठुलो अन्तर छ । समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ छ । यद्यपि, गत आवको तुलनामा भने यो २.७८ प्रतिशत कमी हो