राजस्व अनुसन्धान विभागद्धारा ४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ६ २०८०
3.9K
SHARES

६ चैत काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरूविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा १२ करोड ८५ लाखभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगोबराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो ।

उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा २०७९ भदौदेखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा छ लाख ४९ हजार चार सयबराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोतबिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताए ।उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ ।