जीडीआई’ बाट नेपालले पनि लाभ लिनसक्छ – उपाध्यक्ष पौडेल
१६ चैत काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जीडीआई) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा लाभ लिन सक्ने बताएका छन् ।
चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बीएफए) लाई बिहीबार सम्बोधन गर्दै उनले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जीडीआई) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताएका उनको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष पौडेलले यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जीडीआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी पनि बताएका छन् ।
जीडीआईको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि जिनपिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन् ।’