दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै सुजन
२० चैत भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने जिब्रो छेड्ने जात्रामा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन् ।नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्णले नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । यो वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेका स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।
सुजनका बुबा बुद्धकृष्णले जिब्रो छेडाउने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । सुजनले आफूले सानैदेखि बुबाले जिब्रो छेडाएर जात्रा चलाएको हेर्दै आएको सुनाए । जात्रा जोगाउन आफू यो वर्ष पनि जिब्रो छेडाउन तयार भएको उनले प्रतिक्रिया दिए ।सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा म उहाँसँगै हुन्थेँ । उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो । त्यो मौका गत वर्ष जुर्यो । यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्नेछु ।”