ठूला बैंकको कर्जा गुणस्तर परीक्षण गर्ने प्रक्रिया शुरू


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०
1.9K
SHARES

२१ चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला र प्रणालीगत रुपमा महत्वपूर्ण मानिएका १० बैंकको कर्जा गुणस्तर जाँच गर्ने प्रक्रिया अघि बढाएको छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) प्राप्त गर्नुअघि नेपालले १० ठूला बैंकको बाह्य लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएको थियो ।व्यवस्थालाई कार्यान्वयन गर्ने प्रक्रिया थालिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकको सम्पत्ती तथा सेवा व्यवस्थापन विभागले यसका लागि लेखापरीक्षण नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो राष्ट्र बैंकले यसै आर्थिक वर्षभित्रै उक्त काम गर्ने भनेको थियो । सोही प्रयोजनमा सघाउ पुगोस् भनेर केन्द्रिय बैंकले यो आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत् बैंकहरुको पूँजी पर्याप्तता अनुपातमा समेत संशोधन गरिदिएको थियो । १ करोडसम्मको कर्जालाई ‘रिटेल पोर्टफोलियो’ मान्न पाइने पुरानो व्यवस्थालाई दोब्बर पारेर २ करोडको सीमा निर्धारण गरिदिनुको पछाडी बैंकहरुको अवस्था राम्रो भएको देखाउनु नै हो ।

राष्ट्र बैंकले मुलुकको वित्तीय प्रणालीमा सर्वाधिक महत्वपूर्ण रहने बैंकहरुको सूची पनि तयार पारेर राखेको छ । उक्त सूची बनाउनु पर्ने ‘बासेल ३’ को प्रावधान बमोजिम नै अर्थतन्त्रमा बढी महत्वपूर्ण हुने बैंकहरुको अनुक्रम तयार पारिएको भए पनि त्यसलाई सार्वजनिक गरिएको छैन ।केही वर्षअघि राष्ट्र बैंकले मौद्रिक नीतिमै प्रणालीगत रुपमा महत्वपूर्ण बैंक (सिस्टमेटिकल्ली इम्पोर्टेण्ट बैंक–एसआईबी) छुट्याउने र उनीहरुलाई विशेष खालको नियमन व्यवस्था गर्ने भने पनि त्यसको पालना भएको छैन । तर केन्द्रिय बैंकले गोप्य दस्तावेजको रुपमा त्यस किसिमको सूची बनाएको जानकार बताउँछन् । तिनै सूचीबाट बढी महत्वपूर्ण ठानिएका १० बैंकको बाह्य लेखापरीक्षण हुने राष्ट्र बैंकका एक अधिकारीले अर्थपथलाई बताए । उक्त प्रक्रिया पुरा भएपछि ठूला बैंकहरुको कर्जाको गुणस्तरबारे स्पष्टता आउने छ ।