चालु खातामा अस्वाभाविक बचत


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २३ २०८०
2.2K
SHARES

२३ चैत काठमाडौं । आन्तरिक उत्पादन र रोजगारीमात्रै होइन, उपभोगमा पनि कमी आएको बेलामा बाह्य क्षेत्रको सन्तुलन भने पुनः बिग्रिन थालेको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने पैसा असाध्यै धेरै भएपछि नयाँ ढंगको समस्या देखिएको हो ।नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्षको आर्थिक अवस्था दर्शाउने मासिक प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार गत फागुन मसान्तसम्म नेपालको चालु खाता बचत १ खर्ब ६६ अर्ब ८७ करोड पुगेको छ । यो गतसालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३.१ प्रतिशत हो ।

नेपालमा यस प्रकारका तथ्यांक सुरक्षित गर्न थालिएको पछिल्ला ४९ वर्षमा जम्मा १७ पल्टमात्रै चालु खाता बचतमा देखिएका छन् । अर्थशास्त्रीहरुका अनुसार चालू खाता केही न केही बचतमा रहनु राम्रो मानिने भए पनि नेपालजस्तो देशका लागि यति धेरै बचत हुने ‘घातक’ हुन्छ ।‘नेपालको अर्थतन्त्रको आकारलाई हेर्दा करीब ४०–५० अर्ब नाफा वा त्यति नै घाटामा हुनुलाई उचित मान्नुपर्छ’ राष्ट्र बैंकका एक अधिकारी भन्छन् । साँघुरो अन्तरमा चालु खाता व्यवस्थापन गर्न सकिए मात्रै त्यो सन्तुलित हुने ती अधिकारीले बताए ।

विज्ञका अनुसार नेपालजस्तो देशले यतिधेरै पैसा बचत गर्नु भनेको ‘सुन्निएर मोटाउनु’ जस्तै हो । दुई कारणले नेपालले यसरी चालु खातालाई अधिक बचतमा राख्नु हुँदैन । पूँजीको ओहोरदोहर गर्न प्रतिबन्ध लगाइएको नेपाली अर्थतन्त्रमा चालु खातामात्रै त्यस्तो औजार हो, जसले अर्थतन्त्रमा भित्रिने र बाहिरिने पैसाको वास्तविक चित्रण देखाउँछ ।

डेढ वर्षयता आयातमा देखिएको गिरावट र रेमिटेन्समा भइरहेको लगातारको बृद्धिले गर्दा चालू खाता बचत आकाशिएको छ । हाम्रोजस्तो अति कम विकसित देश र आयातमा निर्भर अर्थतन्त्रका निम्ति यो निकै खराब परिस्थिति हो ।

चालु खातामा भइरहेको यतिधेरै बृद्धिले देशमा ‘विकासका गतिविधी रोकिएको’ र ‘उपभोगमा कमी आएको’ संकेत गर्छ । अहिले सरकारलाई राजस्व कम भएर खर्च धान्नै धौधौ पर्नुको मुख्य कारण पनि यही हो । विदेशी लगानीकर्ताहरुलाई विस्वासमा लिन केही हदसम्म चालु खाता बचत हुनुपर्ने भए पनि अहिले अधिक बचतको भारीले अर्थतन्त्र नै थिचिने अवस्था आएको छ ।

नेपाली अर्थतन्त्रमा भूकम्पको बेला यस्तै गरी चालु खाता बचत बढेको थियो । त्यसबेला विदेशमा भएका नेपालीले आफ्ना परिवारलाई सामान्य समयको तुलनामा बढी पैसा पठाए भने अन्तरराष्ट्रिय सहायता पनि उल्लेख्य मात्रामा बढ्यो । यसको परिणामस्वरुप त्यस बेला चालु खाता बचत चुलिएको भए पनि अहिले भने अर्थतन्त्र नै सुस्त भएर यस्तो बचत बढेको छ ।

कस्तो अवस्थामा बचत राम्रो ?

संसारमा दुई किसिमका देशले चालु खाता बचतमा राख्ने गरेका छन् । पहिलो, चीन, जर्मनी, जापान, कोरियाजस्ता असाध्यै धेरै औद्योगिक वस्तु उत्पादन गरेर निर्यात गर्ने देशहरु हुन् । अर्को चाहीँ रूस, नर्वे, साउदी अरेबियाजस्ता प्राकृतिक स्रोत (पेट्रोलियम पदार्थ) विक्री गर्ने देशहरु हुन् ।

यसरी जुनसुकै रुपमा वस्तु निर्यात गरेर पैसा कमाउने मुलुकहरु चालु खाता बचतमै रहँदा पनि प्रगति गर्न सक्षम हुन्छन् । यस्ता देशले ब्यापाक मात्रामा वस्तु तथा सेवा उत्पादन गरेर संसारभर बेच्छन् र पैसा बटुल्छन् । त्यस्ता देशसँग चालु खाता बचत बढी हुन्छ ।

तर अमेरिकाजस्ता देशले संसारभर पूँजी लगानी गरेर त्यसको प्रतिफल प्राप्त गर्छन् । यस्तो खाले पूँजी लाभबाट उनीहरु उपभोग्य वस्तु किन्छन् र आम्दानी तथा खर्चलाई सन्तुलनमा राख्छन् । नेपालको हकमा आयातलाई थेग्ने एउटै माध्यम रेमिटेन्स हो ।

पेट्रोलियमजस्ता प्राकृतिक स्रोत नभएको वा त्यसको उत्खनन सुरु नगरिएको, पूर्वाधार विकासमा खासै काम नभइसकेका कारण धेरै लगानी गर्न आवस्यक भएको र बाँच्नैका लागि वस्तु आयात गर्नुपर्ने बाध्यता भएको नेपालका लागि ढुकुटीमा बढी पैसा थुपार्नु राम्रो होइन ।

हाम्रोजस्तो देशमा अक्सर चालु खाता थोरै घाटामै रहँदा अर्थतन्त्रको विस्तार सुदृढ हुन्छ । चालु खातामा पैसा थुप्रिँदा लगानी नबढ्ने भएकाले त्यसले आर्थिक बृद्धि हुन दिँदैन । नयाँ रोजगारी सिर्जना हुँदैन । उत्पादन बढ्नैन । आयात निरुत्साहित हुने अवस्था पनि हुँदैन ।

तर चालु खाता घाटा असाध्यै धेरै बढ्नु पनि आफैँमा राम्रो होइन । २०७९ असारमा नेपालको चालु खाता ६ खर्ब २३ अर्ब ३७ करोड ६५ लाख घाटामा पुगेको थियो । यो भनेको त्यस बेलाको जीडीपीको १२.६४ प्रतिशत हो । अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार चालु खाता घाटा अर्थतन्त्रको ६ प्रतिशतभन्दा माथि गयो भने नीतिगत हस्तक्षेप गर्नुपर्ने हुन्छ । यस्तो घाटा १० प्रतिशतभन्दा बढी हुनुलाई ‘खराब हालत’ मानिन्छ ।