५ दिनमा १७ अर्बले बढ्यो निक्षेप


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
2.4K
SHARES

२७ चैत काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नुको मुख्य कारण अर्थतन्त्र चलायमान नहुन नसक्नु नै रहेको जानकारहरु बताउँछन्। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा हाल करिब ६० अर्ब रुपैयाँ अधिक तरलता ९लगानीयोग्य रकम० रहेको छ। ‘प्रणालीमा ६० अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता रहेको छ’, राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोख्रेल भन्छन्, ‘यो भनेको निकै सहज अवस्था हो।’

केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत २६ गतेसम्म बैंक तथा वित्तीयहरुको कुल ६१ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ। गत चैत २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो ५ दिनको अवधिमा कुल निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। यो ५ दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १४ अर्ब रुपैयाँले बढेको छ। गत चैत २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५३ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत २६ गतेसम्म बढेर ५४ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।

चैत २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत चैत २१ गतेसम्म पनि ५० खर्ब ८८ अर्ब रुपैयाँ नै कर्जा प्रवाह भएको थियो। कर्जा प्रवाह भने स्थिर रहेको छ। चैत २६ गतेसम्म बैंकहरुको अन्तरबैंक दर ३।३१ प्रतिशत रहेको छ भने सीडी रेसियो ८० प्रतिशत माथि रहेको छ।