अढाइ खर्ब सार्वजनिक ऋण नौ महिनामै थपियो


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ४ २०८१
2.6K
SHARES

४ वैशाख काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण अत्याधिक तीव्र गतिमा बढेको छ । चालू आर्थिक वर्षका ९ महिनामा मात्र मुलुकको सार्वजनिक ऋण २ खर्ब २८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपिएको हो ।  यसरी चालू आर्थिक वर्षको नौ महिनामा मात्र २ खर्ब भन्दा माथिले ऋण थपिँदा नेपालको कूल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यो रकम नेपालले तिर्नु पर्ने दायित्वमा रहेको बाँकी ऋण हो ।

यसमा आन्तरिक तर्फको ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड ४ लाख रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड १७ लाख रुपैयाँ रहेको छ । मुलुकको नौ महिनामा मात्रै आन्तरिक ऋण तर्फ १ खर्ब ७५ अर्ब ४० करोड ९१ लाख रुपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा बाह्य ऋणतर्फ ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थपिएको छ ।

चालू खर्च नै धान्न नसक्ने अवस्थामा पुगेको सरकारले अनिवार्य दायित्व भुक्तानी अन्तर्गत चालू आर्थिक वर्षको नौ महिनामा सावाँ तर्फ १ खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ तिरेको छ भने ब्याज मात्रै ४९ अर्ब ७८ करोड ५८ लाख रुपैयाँ तिरेको छ ।

त्यस्तै, विदेशी ऋणको साँवा भुक्तान गर्न सरकारले २६ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ तिर्दा ब्याजकोरुपमा मात्र ६ अर्ब ८७ करोड १४ लाख रुपैयाँ तिरेको तथ्यांकमा उल्लेख छ ।