लगानी गर्नुस् सहकार्यका लागि तयार छौं – अध्यक्ष ढकाल
१६ वैशाख काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् ।आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहमा ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको भन्दै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए ।
विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने ढकालको भनाइ थियो । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना देखाएका छन् ।