नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतीय विदेशमन्त्री एस जयशंकरले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २३ २०८१
10.1K
SHARES

२३ वैशाख काठमाडौ । नेपालले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयबारे भारतले प्रतिक्रिया दिएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया दिएका हुन्।नेपाल सरकारले हालै सय रुपैयाँको नोटमा भारतबाट अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्न राष्ट्रबैंकलाई अनुमति दिने निर्णय गरेको थियो।

जयशंकरलाई दिल्लीको एक पत्रकार सम्मेलनमा शनिबार नेपालको सो निर्णयबारे प्रश्न सोधिएको थियो।‘हाम्रो अडान स्पष्ट छ। हामी सीमासम्बन्धी विषयमा स्थापित संयन्त्रमा छलफल गरिरहेका थियौँ। त्यसको बीचमा उनीहरुले एकपक्षीय रुपमा केही कदम चाले। त्यसले हामीबीचको स्थिति र जमिनको यथार्थ बदल्ने छैन,’ जयशंकरले नेपालले जारी गरेको नयाँ नक्सातर्फ समेत संकेत गर्दै भने।

नेपालले २०७७ मा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ जारी गरेको थियो।नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको थियो।

त्यतिखेर अतिक्रमित नेपाली भूमिमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि नेपालले सो नक्सा जारी गरेको थियो। जसलाई संसदले अनुमोदन गरेको थियो।पछिल्लो समय सीमा समस्याबारे द्विपक्षीय संयन्त्रहरुमा नेपाल र भारतबीच वार्ता हुन सकेको छैन।