भोलि सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २५ २०८१
25K
SHARES

२५ वैशाख काठमाडौं। प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ।आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन्। मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ।

संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिए।

मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र भोलि बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ। सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्नेको सङ्ख्या बढ्दो छ। मन्दिरमा दैनिक आठदेखि १० जना श्राद्ध गर्नका लागि आउने गरेका छन्।

मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवंगत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ।

चन्द्रागिरिमा भोलि बिदा

मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।