विमानस्थल भित्र भल पस्यो…


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २६ २०८१
3.2K
SHARES

२६ वैशाख काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए ।

‘एक्कासि ठूलो पानी पर्‍यो, ड्रेनेज थुनिएछ, त्यसपछि पानी विमानस्थलभित्र छिरेको देखियो । जहाँबाट पानी छिर्‍यो, यो दुई वटा भवनको ज्वाइन्ट हो,’ झाले भने, ‘त्यही स्थानबाट लिकेज भएको हो ।’

भलका कारण करिब १० मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान/अवतरण तथा अन्य काममा भने असर नपरेको उनले बताए ।यस स्थानमा नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिन हुने पुगेको उनको भनाइ छ ।