सेबोनले बजेट अघि नेतृत्व नपाउने


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३० २०८१
2.1K
SHARES

३० वैशाख काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजेटअघि नेतृत्व नपाउने देखिएको छ । राजनीतिक दाऊपेच र कर्पोरेट घरानाहरुको परस्पर विरोधी दबाबका कारण नियुक्ति प्रक्रिया लम्बिने देखिएको हो ।अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अधिकारीहरुले आगामी जेठ १५ मा नयाँ बजेट प्रस्तुत गरेपछिमात्रै सेबोन अध्यक्षको बारेमा प्रक्रिया टुंगिने संभावना रहेको बताएका छन् । ‘मन्त्री ज्यू बजेट निर्माण प्रक्रियामा व्यस्त हुनुहुन्छ । बजेटअघि बोर्डको अध्यक्षको टुंगो लाग्ने सम्भावना कम छ’, सचिवालय स्रोतले अर्थपथसँग भन्यो ।अहिले अर्थमन्त्री पुन विभिन्न क्षेत्रका विज्ञ तथा व्यावसायिक संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालासँग नयाँ बजेटबाट छलफलमा जुटेका छन् । यस्तो बेला नियामक निकायको प्रमुख नियुक्त गर्ने प्रक्रियामा उनले खासै ध्यान दिन पाएका छैनन् ।

यस पल्ट सेबोन अध्यक्षले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने कि नदिने, दिने भए कसलाई र कस्तो मापदण्डमा दिने भन्ने कुराको टुंगो लगाउने छ । दोस्रो स्टक एक्सचेञ्ज खुल्यो भने तेस्रो पनि खुल्ने संभावना छैन । त्यसैले यो देशको पूँजी बजारलाई आफ्नो कब्जामा ल्याउन ठूला र उच्च राजनीतिक पहूँच भएका व्यावसायिक घरानाहरुबीच प्रतिस्पर्धा चलेको छ ।

उनीहरुले राजनीतिक लबिङ पनि उत्तिकै गरिरहेका छन् । सोही कारण सेबोनका दुई कार्यकारी निर्देशक सहित पाँच जनामध्येबाट कसलाई छानेर अध्यक्ष बनाउने भन्ने मुद्दामा ठूलो राजनीतिक दबाब सिर्जना भएको मन्त्रीको सचिवालयका अधिकारीले बताए । सत्ता साझेदार दलहरुको पनि विभिन्न दबाब आइरहेको र अर्थ मन्त्रालयकै मातहतमा अन्य पदमा पनि नियुक्ति दिनुपर्ने अवस्था आएकाले भागबण्डामा कुरा मिलेको छैन ।