मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक
४ जेठ काठमाडौ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा जुटेको छ । केन्द्रीय बैंकले कर्जाको माग नबढ्ने देखेपछि मौद्रिक व्यवस्थाहरुलाई यथावत राख्दै तेस्रो समीक्षा गर्ने तयारी गरेको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका लागि बिहीबारदेखि व्यवस्थापन समितिमा छलफल शुरु गरेको छ । केन्द्रीय बैंकको व्यवस्थापनमा छलफल सकिएपछि सञ्चालक समितिले निर्णय गरेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै आएका छन् । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ ।
अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सबल भएको बहानामा आयात बढाउने नीति लिएपनि बजारमा माग नभएकाले आर्थिक गतिविधि बढ्दो अवस्थामा छैन ।आर्थिक गतिविधिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंक दर, नीतिगत दर, ब्याजदर करिडोरको सीमा लगायत परिवर्तन गर्ने अवस्था छैन । हाल केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशत कायम गरेको छ भने नीतिगत दर ५.५ प्रतिशत तोकेको छ । त्यसैगरी करिडोरोको तल्लो सीमामा निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको नगद सञ्चिति अनुपात ४ प्रतिशत राख्नु पर्ने व्यव्स्था गरेको छ ।
त्यसैगरी वाणिज्य बैंकहरका लागि बैधानिक तरलता अनुपात १२ प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको हकमा १० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था छ ।