पुनः कम्युनिष्टहरूबीच एकता हुनैपर्छ – नेता गौतम
१५ असार काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन्। शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए।
कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ थियो। जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने उनले बताए।
‘कम सेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुप¥यो। हामी एकता गर्छौँ। नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरूको बीचमा एकता हुनैपर्छ। त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ। समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर,’ उनले भने, ‘राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो। मूल शक्ति हो, मूल उत्पादक साधक हो। त्यो शक्ति आफूसँग नलिकन समाजवाद स्थापना गर्न सकिँदैन। फेरि पनि कम्युनिष्टहरू बीचको एकता हुनैपर्छ।’