दुई तिहाइको प्रधानमन्त्री बन्दै ओली
२८ असार काठमाडौं । सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ ।
नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी भएको हो । माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने र देउवा प्रधानमन्त्री बन्ने जिकिर गरिरहेको छ ।