वडाध्यक्ष अमेरिका गएपछि वडा कार्यालयमा ताला


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१
2.6K
SHARES

८ कात्तिक खोटाङ । वडाध्यक्ष अमेरिका गएपछि खोटाङको साकेला गाउँपालिका–४ को वडा कार्यालय ९ महिनादेखि बन्द छ । मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताल्चा लगाएका छन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो ।

तर वडाध्यक्ष कटवाल नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए ।वडाध्यक्ष कटवाल स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।