स्थानीय तह उपनिर्वाचनको माहोल बन्दै
२० कात्तिक काठमाडौं । चाडबाड सकिएसँगै राजनीतिक दलहरु स्थानीय तह उपनिर्वाचनमा उमेदवार छान्ने तयारीमा जुटेका छन् । स्थानीय तहका खालि ठाउँमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।नेताहरुले उमेदवार सिफारिस र छान्न स्थानीय तह, जिल्ला र प्रदेशलाई जिम्मेवारी दिएका छन् । वडाध्यक्षको उमेदवार जिल्ला र पालिकाको उमेदवार प्रदेशले टुंग्याउने जिम्मेवारी दिएका हुन् ।
एमाले कीर्तिपुर नगर कमिटीले सुरेन्द्र मानन्धरलाई नगरपालिका प्रमुखको उमेदवार बनाउन सिफारिस गरेको छ । राप्रपाले इन्जिनियर ध्रुव महर्जनलाई उमेदवार बनाउने घोषणा गरिसकेको छ ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जिल्ला र प्रदेशलाई उमेदवार टुंग्याउन निर्देशन दिएको जानकारी दिए । “उपनिर्वाचनका उमेदवार प्रदेशले टुंग्याउने हो । आवश्यकता अनुसार केन्द्रको संयोजनमा उमेदवार टुंगो लाग्छ,” उनले भने ।
सत्ता साझेदार नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजक रहेको उपनिर्वाचन संयोजन समिति गठन गरेको छ । कार्तिक १४ गते गठन भएको समितिमा सह–महामन्त्रीहरु सदस्य छन् । “समितिको बैठक बसिसकेको छैन । अब बैठक बसेर आवश्यक संयोजन गर्छौैं,” कांग्रेस सहमहामन्त्री तथा संयोजन समितिका सदस्य जीवन परियार भन्छन् ।
संसद्को ठूलो दल नेकपा (माओवादी केन्द्र)ले कात्तिक २५ सम्ममा उमेदवार नामवाली केन्द्रमा पठाउन निर्देशन दिएको छ । “२५ गतेभित्र उमेदवार छानेर नामावली पठाउन निर्देशन दिएका छौं,” माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, “वडाको उमेदवार जिल्लाले र पालिकाको उमेदवार प्रदेशले टुंग्याउनेछ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन संयोजन समिति बनाएको छ । एकीकृत समाजवादीले पनि यही साताभित्र उमेदवार टुंग्याउने तयारी गरेको छ । पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले यही साताभित्र उमेदवारी टुंगो लगाउने बताए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले उपनिर्वाचनका लागि कमान्डर तोकिएको बताए । “उपनिर्वाचनका लागि कमान्डर तोकेका छौं । उहाँहरुले सल्लाह गरेर उमेदवार टुंग्याउनुहुन्छ,” उनले भने ।