छानबिनमा सहयोग गर्न तयार छु – उपसभापति गुरुङ


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
2.9K
SHARES

२७ कार्तिक काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय आफुविरुद्ध अनर्गल प्रचार भएको बताउँदै आफूमाथि छानबिनको माग गरेका छन् ।उनले राज्यका निकायलाई आफूले छानबिनमा सहयोग पुर्‍याउने उल्लेख गर्दै अनर्गल प्रचार बन्द गर्न अनुरोध गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले मंगलबार भनेका छन्, “म कृष्णप्रसाद भट्टाराईजस्ता सदाचारी नेताको अनुयायी हुँ । म निष्ठापूर्वक कहीँ कतै नचुकिकन भ्रष्टाचारविरुद्द इमान्दारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु ।  मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानबिन गर्न सक्नेछन् । म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु ।”

उनले आफू सादगी जीवन बिताउने, निष्ठाको राजनीति र सुशासनको पक्षमा जीवनभर लडिरहेको उल्लेख गर्दै सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भनी कपोलकल्पित प्रचार गर्नु निन्दनीय भएको बताएका छन् ।उनले पूर्व श्रीमतीले गरेको गल्तीको सजाय आफूले भोग्न नमिल्ने बताउँदै ज्योती गुरुङ जहाँ भए पनि ल्याएर छानिबनको दायरामा ल्याउनु राज्यको काम भएको बताएका छन् ।

“भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध शरीरमा एक थोपा रगत रहेसम्म म सधैँ लडिरहने छु,” उनले विज्ञप्तिमा भनेका छन्, “मेरो पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाइ अनुसन्धान गरियोस् र सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरियोस् ।”