स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2K
SHARES

२ मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा. शर्मालाई थप जिम्मेवारी प्रदान गरेका हुन् । मन्त्रिपरिषद्बाट नयाँ कार्यकारी निर्देशक नियुक्त नभएसम्मका लागि उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको हो ।

यसअघि बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबार समाप्त भएको थियो । यस्तै बोर्डका अध्यक्ष रहेका डा. गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन भएको हो ।नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।