कीर्तिपुरमा कांग्रेसले गरायाे उम्मेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2.7K
SHARES

२ मंसिर काठमाडौं । उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उमेदवारी दर्ता गराएका छन् । कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् । उनी कांग्रेसका कीर्तिपुर नगर सभापति हुन् ।०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कीर्तिपुरको मेयरमा निर्वाचित राजकुमार नकर्मीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट इच्छा महर्जनले उमेदवारी दर्ता गराएका छन् । ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हिरालाल महर्जनको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति कांग्रेसका तर्फबाट राजेन्द्र बानियाँले उमेदवारी दिएका छन् । बानियाँ ०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षको उमेदवार बनेर पराजित भएका थिए । ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्षमा निर्वाचित श्यामकुमार अधिकारीको निधनपश्चात् त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।