प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, के होला मन्त्री परिवर्तन ?
३ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा सोमबार साँझ ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भेटवार्ता नियमित भएको बताए । तर, भेटमा प्रधानमन्त्री र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीबारे समीक्षा हुने स्रोत बताउँछ । मन्त्रीहरूको समीक्षापछि थप निर्णय लिने तयारीमा प्रधानमन्त्री ओली छन् ।
कांग्रेस सभापति देउवा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनपछि मन्त्रिपरिषद् हेरफेरका लागि आवश्यक सहमति दिने छन् ।
“कतिपय मन्त्रीको कार्यक्षमतमा प्रश्न उठिसकेको छ । त्यस्ता मन्त्रीहरूलाई गुटको आवरणमा संरक्षण दिँदा पार्टीको छवि धुमिल हुन्छ,” कांग्रेसका एक नेताले भने, “वर्तमान सरकारको गठन नै विशेष अवस्थामा भएकाले गुट वा अन्य आधार नहेरी पदको प्रभावकारिता नै आधार मानेर जो कसैलाई फेर्न तयार रहनुपर्छ भन्ने साझा बुझाइ कांग्रेसमा बनेको छ ।”