अखिल क्रान्तिकारीका नेता आमरण अनसनमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०८१
6.9K
SHARES

४ मंसिर, काठमाडौं । नयाँ नेतृत्व चयनको माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तीन नेता पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन् ।निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख केशव रावल, निवर्तमान केन्द्रीय सदस्य खकेन्द्र रावल र निवर्तमान केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष जनक ढुंगानाले आजदेखि आमरण अनसन सुरु गरेका हुन् ।

अखिल क्रान्तिकारीको स्थगित बन्दसत्र मंसिर २३ गतेदेखि नै सुरु गरी निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको माग राख्दै केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरभित्रै आमरण अनसन बसेको निवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए ।‘पार्टीले हाम्रा माग सम्बोधनको सुनिश्चित गरी सर्कुलर नगरेसम्म आमरण अनसन जारी हुन्छ,’ रावलले भने ।

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा सुरु २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय पेचिलो बनेपछि नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । अध्यक्ष मण्डलको बैठकले स्थगित सम्मेलन मंसिर २३ र २४ गते गर्ने निर्णय गरेको थियो ।