बेँसी झर्न थाले भेडाका बथान


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०८१
2.4K
SHARES

६ मंसिर लमजुङ । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेका छन् । ती सबै लेकबाट बेँसी झर्न थालेका छन् । सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ रहेका छन् ।

गर्र्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनःफर्किएका भेडीगोठाला कमल अधिकारीले बताउनुभयो । उनले भने, “गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ।”