१६ दिनपछि रिहा भए पूर्वमन्त्री अधिकारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०८१
1.8K
SHARES

११ मंसिर विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा भएका छन् ।विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका हुन् । उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए ।

मन्त्री अधिकारी प्रक्रिया नपुर्‍याई जापान उडेपछि जापान काण्डमा मुछिएका थिए । उनले आफूले जापान जान पासपोर्ट बुझाएकाहरूले गिरोहको जालमा फसाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पुर्‍याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।

अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । पूर्वमन्त्री अधिकारीले जापान छिर्न लागेका व्यक्तिहरूबारे नेपाल प्रहरी र जापानको अध्यागमनलाई पहिलो जानकारी गराएको खुलेपछि उनी विरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय काठमाडौँले निर्णय गरेको हो ।अधिकारी जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री पदमा बहाल रहेकै बेलामा व्यक्तिगत हैसियतमा जापान उडेका थिए ।

अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । अधिकारी हङकङ पुगेपछि मिसिएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई अधिकारीले नै दिएको जानकारीका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको खुलेको छ ।जापानको कानुनको हेर्ने निकायले राई, शेर्पा र देवकोटा विरूद्ध ‘एक्सक्लुसन अर्डर’ पठाएको जनाइएको छ ।