एमाले र माओवादी केन्द्रबीच गठबन्धन , कसले मर्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०८१
3.2K
SHARES

१२ मंसिर काठमाडौं । बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच प्रतिस्पर्धा हुने भएको छ। मंसिर २ मा उम्मेदवारी दर्ता गर्दा यहाँ पाँच दलबाट उम्मेदवारी परेको थियो। उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएकी छन्। माओवादीले यहाँ उम्मेदवारी फिर्ता लिएर एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गरेर चुनावी प्रचारमा समेत हिँडेकी छन्।

माओवादी गाउँपालिका कमिटी र एमाले गाउँपालिका कमिटीबीच छलफल गरेर गठबन्धन गर्ने निर्णय भएको थियो। एमाले र  माओवादीबीच भएको सहमतिमा २०८४ सालमा हुने स्थानीय तह चुनावमा उपाध्यक्ष, एक वडाध्यक्ष र केही वडा सदस्य पदमा माओवादीलाई एमालेले सहयोग गर्ने उल्लेख रहेको एक नेताले जानकारी दिए।

एमालेसँग चुनावी गठबन्धन गर्ने पार्टी स्थानीयस्तरको निर्णयलाई  माओवादी केन्द्र बाजुराले भने असहमति जनाएको छ।माओवादी जिल्ला संयोजक देवीचन्द्र बुढाले मंसिर ६ गते नै विज्ञप्ति निकालेर माओवादी उम्मेदवार राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

‘स्थानीय पार्टीको सिफारिसमा उपाध्यक्ष उम्मेदवार राजुकुमारी विक (रचना) को उम्मेदवारी दर्ता भएको थियो, मंसिर ५ गते उहाँले उम्मेदवारी फिर्ता लिएको सुन्नमा आएकोले यसप्रति जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्य पार्टीको नीतिविपरीत  रहेको जानकारी गराउँदछौं,’ जिल्ला संयोजक बुढाले निकालेको विज्ञप्तिमा उल्लेख छ। यहाँ कांग्रेसले पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ।

२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको २०८० माघ ४ गते निधन भएसँगै उपाध्यक्ष रिक्त छ।यहाँ एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छिन्।राप्रपाबाट उम्मेदवार रहेकी सुनादेवी थापा धामीले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। निर्वाचन अधिकृत सञ्जीव पोखरेलले ५ जनाको उम्मेदवारी परे पनि माओवादी  र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेको  बताए।२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८ सय १० मत ल्याएर विजयी हुँदा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढाले एक हजार ६ सय ३७ मत ल्याएकी थिइन्। त्यसबेला कांग्रेसकी जोशीले एमालेकी बुढाभन्दा १७३ मत बढी ल्याएकी थिइन्। यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।