चुनाव हार्ने शंकर पोखरेल हरूवालाई लाज लागेन – नेता पुन
१६ मंसिर रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरुवाहरुले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन् । उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे ।
‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको छैन । १८ महिनासम्म संसदमा बहुमत जुटाएर सरकार चलाएको हो’, पुनले भने, ‘शंकरजी अस्ति भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ ।’
पुनले पोखरेलले ०७० सालमा देशैभर काँग्रेस र एमालेले जितेको र एमालेको पक्षमा उभार भएका बेला पनि गृहजिल्लामा चुनाव हारेको चर्चा गर्दै ‘हरुवा’ ले लाजै पचाएर अरुलाई हरुवा भन्नु हास्यास्पद भएको टिप्पणी गरे ।
उनले भने, ‘०७० मा देशेभर एमालेको पक्षमा उभार हुँदा पनि आफ्नै जिल्लामा हार्ने शंकरजी होइन ? ०७९ मा हारेको अस्त भर्खर होइन ?’, उनले भने, ‘अनी उहाँ नै हरुवाहरुले सरकार चलाएर हैरान पारे । हरुवाले सरकार चलाउने युगको अन्त्य गर्छौं । मानिसहरु जो पनि बोल्न सक्दा रहेछन् । कस्तो लाज नभएको ?’
पोखरेलले काँग्रेस र एमाले मिलेपछि प्रगतिशील र कम्युनिष्ट विचारधाराका दलहरुलाई सकाउन सकिन्छ भन्दै दुई दलीय व्यवस्थाको वकालत गर्दै हिंडेकामा पनि उनले टिप्पणी गरे । ‘खासमा उहाँले काँग्रेस–एमालेको दुई दलीय व्यवस्थाको होइन । काँग्रेस–एमाले पुँजीपति वर्गको पार्टी हो भन्न खोज्नुएको हो’, पुनले भने, ‘जनताको पार्टी हाम्रो हो ।’