प्रधानमन्त्री ओली गृहजिल्ला झापामा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१
6.7K
SHARES

२३ मंसिर झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् ।विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे ।

उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए ।प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए  ।
, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए ।प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिए ।