आज गढीमाई मेलामा बोकाको बलि


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
2.2K
SHARES

२४ मंसिर बारा । बारा बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बलि दिइँदैछ। भाकल पूरा भएर बोकाको बलि चढाउन नेपालका साथै भारतको विभिन्न स्थानबाट आज लाखौँ भक्तजन गढीमाई मेलामा आउने क्रम जारी रहेको छ । बोका लिएर आउने मानिसको आज बिहानैदेखि घुइँचो लागेको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइमा परिरहेको देखिएको छ। वीरगन्ज कलैया हुँदै बघवन चोकसम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ। तर बघवन गाउँ छेउ पसाहा नदीको पुलदेखि भने मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ। सयौँ मोटरसाइकल, ट्याम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानैदेखि अवरुद्ध भएको छ।

बिहान ७ बजेदेखि नै बोका लिएर सयौँँ भक्तजन पुलमा अलपत्र परेका छन्। कैयौँ मानिस नदी तरेर हुँदै बोका लिएर गढीमाई मन्दिर तर्फ बढेको देखिन्छ। आइतबार साँझ पनि पसहा पुलमा झण्डै १ घण्टा पैदल मानिस हिँड्ने अवस्था थिएन। पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखी १५/२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।बारा महागढीमाई नगरपालिका-१ बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मेला मङ्सिर १ गते देखि सुरु भएको हो। गढीमाई मेलाको मुख्य दिन हिजो आइतबार करिब १० हजार राँगाको बलि प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।

मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर विशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका-३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि सुरु भएको थियो। मूल तान्त्रिकले आफ्नो शरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बलि भन्ने गरिन्छ। समाजसेवी त्रिपाठीका अनुसार मेलामा बलि प्रदान गरिने बोकाको संख्या भने यकिन हुने अवस्था नदेखिएको बताए। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिमबाट पसाहा नदीको पारी जता पनि बोकाको बलि दिइन्छ। त्यस्तै पूर्व तथा उत्तर दक्षिण तर्फबाट बोका लिएर आउने भक्तजनले महा गढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने व्यवस्था गरिएको छ।

विश्वमै पशु बलिका लागि प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिलेसम्म देश-विदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको  छ । यस वर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ । पुत्र लाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाकल गर्दछन्। विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच वर्षमा लाग्ने गर्छ । मङ्सिर १ गते देखि सुरु भएको गढीमाईको मेला मङ्सिर ३० गतेसम्म चल्ने छ