बिक्न छाडे लिलामका घरजग्गा


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २६ २०८१
2.1K
SHARES

२६ मंसिर काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गइरहेको छ। तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेका ऋणीहरूको सङ्ख्या बढेसँगै खराब कर्जाको अनुपात बढको हो ।यो सँगै बैंकले ऋण उठाउन लिलामीमा राखेका धितोबापतका घरजग्गाहरू समेत बिक्री हुन छाडेका छन् । धितोबापत लिलामीमा राखिएका सवारी साधनको विक्री त ठप्पै छ ।

असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा अनुपात ४.४२ प्रतिशत छ । जसले पछिल्ला दिनमा वाणिज्य बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखाउँछ ।बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो ती कर्जा नउठेको खण्डमा लिलाम गर्छन् । लिलामीको बेला पनि नबिकेको खण्डमा बैंकले गैरबैंकिङ सम्पत्तिको रुपमा सकार्छन् । यसरी सकारेको सम्पत्ति बैंकहरुका लागि घाँडो बन्ने भएका हुन् ।

वाणिज्य बैंकहरु तर्फ सबैभन्दा धेरै गैर बैंकिङ सम्पत्ति ग्लोबल आईएमई बैंकको छ । ग्लोबल आईएमई बैंकको यस्तो सम्पत्ति डेढ वर्षको अन्तरमा तेब्बर भएको हो ।२०८० असारमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ७३ करोडमात्र थियो । गत कात्तिक मसान्तसम्म यस्तो सम्पत्ति ५ अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।

गैरबैंकिङ सम्पत्तिका आधारमा एनआईसी एसिया दोस्रो स्थानमा छ । एनआईसी एसिया बैंकसँग ४ अर्ब २२ करोड रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ ।एनआईएमबी र हिमालयन बैंकसँग ३ अर्ब बढीको गैरबैंकिङ सम्पत्ति छ भने नबिल र कुमारी बैंकसँग २ अर्ब बढी यस्तो सम्पत्ति छ । अन्य ५ बैंकसँग १ अर्ब बढीको निष्क्रिय कर्जा हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्यसँग १ अर्बभन्दा कमको निष्क्रिय कर्जा छ ।

यता सबैभन्दा बढी दरले गैर बैंकिङ सम्पत्ति बढ्ने बैंक नेपाल एसबीआई बैंक हो । डेढ वर्ष अघि एक रुपैयाँ पनि गैरबैंकिङ सम्पत्ति नभएको एभरेष्टसँग यस्तो सम्पत्तिको आकार ५१ करोड पुगेको छ ।ठूला बैंकमध्ये हिमालयन बैंकको निष्क्रिय कर्जा ६ गुणाले बढेको छ भने कुमारीको २.२ गुणाले र एनआईएमबीको २.६ गुणाले बढेको हो ।यता गत कात्तिकको तुलनामा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ७७ प्रतिशतले विस्तार भएको छ । ठूला बैंकमध्ये एक वर्षको तुलनामा सर्वाधिक दरले गैरबैंकिङ सम्पत्ति बढ्ने बैंक हिमालयन र ग्लोबल आईएमई नै हुन् ।

एक वर्षको अन्तरमा ग्लोबलको गैरबैंकिङ सम्पत्ति ३ अर्ब २९ करोडले बढ्दा हिमालयनको २ अर्ब ८० करोडले विस्तार भएको छ । एक वर्षको अवधिमा प्राइम कमर्सियल बैंकले मात्रै गैरबैंकिङ सम्पत्ति घटाएको छ ।पछिल्ला दिनहरूमा बैंकहरुले प्रकाशित गर्ने धितो लिलामीका सूचनाहरू पत्रपत्रिका र अनलाइनमा प्रशस्त देखिन थालेका छन् । खराब कर्जाको अनुपात चुलिएजस्तै लिलामीमा राखिएका धितोबापतका सम्पत्ति समेत विक्री नहुनु बैङ्कहरूका लागि अर्को टाउको दुखाइको विषय बनेको बैंकरहरुको भनाई छ ।