ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने बढ्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ३० २०८१
2.3K
SHARES

३० मंसिर काठमाडौ । पछिल्लो समय ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या बढेको छ । समयमा ऋण भुक्तानी नगर्ने तथा चेक अनादर गर्नेहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सिफारिसमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको छ।

उक्त संस्थाले कालोसूचीमा परेका व्यक्ति तथा कम्पनी वा संस्थाहरूको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूमा पठाउनुका साथै सार्वजनिक पनि गर्ने गर्छ।

पछिल्ला वर्षहरूमा केन्द्रबाट जारी हुने सूचीमा पर्ने व्यक्ति तथा कम्पनीको संख्या व्यापक रूपमा बढिरहेको छ । यो आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म मात्र १६ हजार भन्दा बढी कालोसूचीमा परिसकेका छन् र यो वर्ष पनि यस्तै अवस्था रह्यो भने त्यो संख्या ५० हजारभन्दा माथि पुग्ने देखिन्छ ।

कालोसूचीमा पर्नेमध्ये करिब ७० प्रतिशत चाहिँ चेक अनादरका कारण परेका छन् भने समयमा ऋण वा किस्ता नबुझाएर कालोसूचीमा पर्नेहरूको सङ्ख्या बढिरहेको छ ।