एमालेमा कसैको गुट छैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ३० २०८१
2.8K
SHARES

३० मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विष्णु पौडेल र शंकर पोखरेलको गुट नरहेको भन्दै दुवै नेता आफ्नो लागि बराबर रहेको प्रष्ट पारेका छन् ।

केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल आफ्नो लागि एउटा नजिक र अर्को टाढा नभएको बताएका हुन् ।

कार्याशाला गोष्ठीको दोस्रो दिन औपचारिक सम्बोधनको लाइभ काटेर मिडियालाई बाहिर पठाएपछि अध्यक्ष ओलीले पार्टीभित्र कसैको गुट नरहेको र गुटबन्दी स्वीकार्य पनि नहुने प्रष्ट पारे ।

ओलीको भनाइ उद्धृत गर्दै भेलाका एक सहभागीले भने, ‘अहिले कतिपयले बिष्णु पौडेलको गुट छ,शंकर पोखरेलको गुट छ भन्छन् तर एमालेमा कसैको गुट छैन । मैले गुट गर्ने कुरै भएन सबै मेरा साथीहरु हुन् सबैतिर सबैले मलाई सघाएकै छन् । मेरा लागि सबै बराबर हुन् ।बाहिर कसले के भन्छन्, कसका नाममा गुट बनाइन्छन्, तर एमालेमा अहिले विशेषगरी पार्टी पुनर्गठनपछि कसैको गुट छैन । विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको पनि गुट छैन । मेरा लागि दुवै जना बराबर हुन् । त्यसैले कोही भ्रममा पर्न आवश्यक छैन ।’