नेपालका कम्युनिष्ट एकताबद्ध हुनु अपरिहार्य – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ११ २०८१
2.7K
SHARES

११ पुस काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनु आवश्यक भएको बताएका छन्।चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै उनले माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्नेमा समेत जोड दिएका छन्।
‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारको नेतृत्वमा आफूहरुले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नेपाली मौलिकता अनुसारको समाजवाद निर्माण गर्ने रणनीति अनुसारै भएको प्रचण्डको भनाइ छ।

‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं,’ उनले भनेका छन्, ‘विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ।’