शनिबार काठमाडौं सहित यी स्थानमा पर्नेछ पानी
११ पुस काठमाडौं । यो वर्षको हिउँदको तेस्रो वर्षा शुक्रबार (भोलि) र शनिबार (पर्सि) हुने सम्भावना छ । सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली आजै राति नेपाल प्रवेश गर्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । त्यसको प्रभावले बदली (आकाशमा बादल), वर्षा र हिमपात हुने उनले बताए । पश्चिम नेपालबाट त्यो प्रणाली प्रवेश गर्नेछ । आज दिउँसो भने सबैतिर मौसम सामान्य रहने उनले उल्लेख गरे ।
यो वर्षको हिउँदको पहिलो र दोस्रोजस्तै शुक्रबार र शनिबार पनि पश्चिम नेपालमै वर्षाको सम्भावना बढी छ । “पश्चिम नेपालमा अलि बढी प्रभाव पर्ने देखिन्छ,” उनले भने, “सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”
उनका अनुसार, अरू प्रदेशमा हल्का वर्षाको सम्भावना छ । शुक्रबार दिउँँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । “भोलि (शुक्रबार) राति त यीसँगै लुम्बिनी प्रदेशमा पनि वर्षाको सम्भावना छ,” उनले भने । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको पनि सम्भावना रहेको उनले बताए ।