माओवादी सिध्याउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २४ २०८१
2.5K
SHARES

२४ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको बताएका छन् । बुधबार ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनुपर्ने पक्षमा रहेको बताए ।“टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही छैन,” उनले भने ।

उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै माओवादी सिध्याएर मात्रै टुंग्याउने सोच र प्रवृत्ति रहेको बताए । “माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन । राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ,” प्रचण्डले भने ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ सदनबाट पारित भएपछि टुंगिने विश्वास गरिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

“माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो । टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति छ,” उनले भने ।पीडितले पनि सडकबाट राज्य र नेतृत्वलाई दबाब नदिए अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको उनले बताए । शान्तिपूर्ण ढंगबाट राजनीतिक नेतृत्वलाई दबाब दिए छिट्टै टुंगोमा पुग्ने उनको विश्वास छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छिट्टै टुंग्याउन आग्रह गर्दै छलफल गर्ने पनि बताए । “अब रोक्न भएन, छिट्टै गर्नुपर्‍यो भनेर जाँदै छु,” उनले भने