तत्काल नेपाली कांग्रेससँग तत्काल सहकार्य हुँदैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
2.1K
SHARES

१० माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताएका हुन् ।

केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता शेखर कोइराला र चन्द्र भण्डारीसँग भएको संवादको स्मरण गर्दै संयोगवश कुराकानी भए पनि सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको प्रचण्डले बताए । ‘कांग्रेसका शेखर र चन्द्रजीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो । सरकारप्रति अहिले कुनै अभिरुचि छैन । सरकार जति जान पर्ने हो जाओस्, हामी जनतासँगै छौँ भनेको थिएँ,’ प्रचण्डले भने, ‘पत्रकार साथीहरूले सरकार तलमाथि भइहाले के हुन्छ भन्दा मैले साथीहरू हुनुहुन्छ भनेको हुँ, शेखरजीले पनि राजनीति हो भनिदिनुभएको थियो । यो संयोग मात्रै भएको हो । हामी सरकारमा जान इच्छुक छैनौँ ।’

सरकारमा जाने कुनै अभिरुचि नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए । यो गठबन्धन भने धेरै समय नटिक्ने उनको तर्क छ । सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समितिमा छलफल भइरहेका विधेयक अध्यादेशमार्फत ल्याएर गलत गरेको जिकिर गरे । संसदलाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको उनको भनाइ थियो ।

अहिलेको सरकार भ्रष्टाचारी र आफ्ना मान्छे जोगाउने, राम्रा काम गरेका संस्थामा आक्रमण गर्ने, इमान्दारपूर्वक काम गर्ने कर्मचारी हटाउनेलगायतका काममा लागेको प्रचण्डको आरोप छ । यी सबै कामको आउने अधिवेशनमा प्रतिवाद गर्ने उनको भनाइ थियो ।