मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
१३ माघ काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको एक विद्यार्थी नेताले जानकारी दिए ।विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको ती नेताले जानकारी दिए । मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । ती नेताका अनुसार एक मत बदर भएको छ ।
अहिले दुवै पक्षले पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । ‘मत गणना हुँदा चार मत कम देखियो । विवाद हुँदा महासचिवका उम्मेदवार सञ्जय महतोको समूहले पानी खनाएपछि मतगणना स्थगित भएको छ । निर्वाचन समितिले अहिले सिलबन्दी गरेर राखेको छ । दुवै पक्षले फेरी चुनाव हुनुपर्छ भनेका छन्’, ती नेताले बताए ।