कतिबेला हजारौँ नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुंगो छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
2.2K
SHARES

१४ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृत्तिका कारण विदेश जाने प्रवृत्ति बढ्दै गएको बताए ।

उनले भने, ‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमी हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकि भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहन्छु । हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनी, आफैँ आत्मनिर्भर बन्नेबाटो तर्फ प्रेरित गरौँ । विदेश पठाउन हतार नगरौँ ।’

अध्यक्ष प्रचण्डले थप्दै भने, ‘विदेसमा पनि टुंगो छैन । कहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौँ प्रवासीलाई विस्तापित गरिदैँ छ । कतिबेला हजारौँ नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुंगो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठूलो लडाइँ भएर नेपालीहरू फर्किन पर्ने हो टुंगो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौँ । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौँ ।’