निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
2.3K
SHARES

२० माघ रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन् ।शनिबार रौतहटको गौरमा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा उनले व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौं ‘फास्ट ट्रयाक’को निर्माणका साथै विमानस्थल बनाउन अतिजरुरी रहेको आवश्यकता औँल्याए ।निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे । सीमा समस्या समाधानका निम्ति जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले दुवै देशका नागरिकको हित हुने गरी सरकारले काम गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा मधेस प्रदेशसभा सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायत वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादवको अध्यक्षतामा संवाद कार्यक्रम भएको हो । हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सीमा क्षेत्रका जिल्लामा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो ।