जनयुद्ध हिंसा नै हो – उपाध्यक्ष बादल


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१
2.8K
SHARES

२४ माघ कैलाली । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको टिप्पणी गरेका छन् । पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनयुद्धलाई उक्त टिप्पणी गरेका हुन् । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल युद्धको आर्किटेक्ट मानिन्छन् । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनी एमालेमै रहेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि यस विषयमा गहन छलफल भएको उपाध्यक्ष थापाको भनाइ थियो । १० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतन्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले बताए ।