राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित
२८ माघ काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकबाट सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया क्षेत्रको नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिने गरी कानुन निर्माण गरिएको बताए ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधायनसम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए ।राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बोलाइएको छ ।