तामाखानीका सुरुङ पुरिन थाले
१ फागुन म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो ।
पुरानो गाउँन नजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानी बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा तामाखानीका दुई वटा सुरुङ रहेपनि अहिले एउटा पुरिएको र अर्को पनि पुरिने अवस्थामा पुगेको स्थानीय मन छन्त्यालले बताउनुभयो ।
‘गाउँ वरपर तामाखानीका धेरै भग्नावशेष छन्, सुरुङ वरपर प्रशस्त मात्रामा तामाका धाउ फेला पर्छन्, तर खानी खन्ने पेसा बन्द भएसँगै अहिले खानीको अवशेषसमेत मेटिने जोखिम बढेको छ’, उनले भने । उनका अनुसार ठाँडाखानी गाउँको शिरमा पर्ने रुमाले गाउँको भीर, इच्छिमाझ भीरलगायत ठाउँमा तामाखानीका दर्जनबढी सुरुङ रहेका छन् ।