उत्तर कोरियासँग ट्रम्प र दक्षिण कोरियाको वार्ता हुनुमा मेरो योगदान रह्यो – माधव नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१
1.7K
SHARES

४ फागुन काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति तथा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको भेटवार्ता हुनुमा आफूले पनि योगदान गरेको बताएका छन् ।समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न खोज्दा पनि उत्तर कोरिया भ्रमण गरेर विश्व शान्तिमा योगदान दिएको बताए ।

नेपालले भने, ‘अमेरिका रिसाउँछ, जापान र दक्षिण कोरिया रिसाउँछन् भनेर केपी ओलीले उत्तर कोरिया भ्रमण जान दिएनन् । त्यसपछि तिनै देशका राजदूतले मकहाँ आएर रोक्न खोजे, तर म कसैको कुरा नसुनी गएँ । म गएर त्यहाँका नेताहरुसँग भेट गरेँ । म फर्केर यता आएपछि अचम्मै भयो । दक्षिण र उत्तर कोरियाका राष्ट्रपतिहरुबीच भेटघाट भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा भेटवार्ता भयो । पछि तिनै देशका राजदूत फेरि मकहाँ आएर गजब पो भएछ भने । के जादू भयो पनि भने । किनभने विश्व शान्तिको सन्दर्भमा हामीले पनि केही भूमिका खेल्न सक्छौं ।’

पूर्वप्रधानमन्त्री नेपालले कम्बोडियाका राष्ट्रपतिले समेत कुनै बेला आफूलाई युद्धरत पक्ष र राष्ट्रपतिबीच दुवैलाई राखेर कुरा गराउन भूमिका खोजेको स्मरण गरे ।नेपालले फिलिपिन्स र अफ्रिकाका नेताहरुले पनि आफूलाई त्यस्तो प्रस्ताव राखेको बताए । नेपालले हीन भावना राखेर होइन, विश्वलाई मिलाउन भूमिका खेल्न सकिने उनले बताए ।