विपीन जोशी चाँडै रिहा हुनेछन् – परराष्ट्रमन्त्री राणा
४ फागुन काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेन्टिन चरमपन्थी समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशी छिट्टै रिहा हुने आशा व्यक्त गरेकी छन् ।ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएकी हुन् ।“हामीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौं । हामी आशा गर्छौं जोशी चाँडै रिहा हुनेछन्,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
मन्त्री राणा ‘८ औं हिन्द महासागर सम्मेलन २०२५’ मा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट गएकी हुन् । सोही सम्मेलनको साइडलाइनमा मन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता भएको हो ।
कतारका विदेश राज्यमन्त्रीसँगको भेटवाबर्तामा नेपाल–कतार सम्बन्धका साथै द्विपक्षीय र बहुपक्षीय सहयोग सम्बन्धी विषयहरूमा छलफल भएको थियो । भेटमा दक्ष प्राविधिक कामदारहरूको आवश्यकता र कतारमा नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसरहरू प्रदान गर्ने विषयमा छलफल भएको थियो ।