नेपाल र जापानबीच ‘इन्टरलाइन पार्टनरसिप एग्रीमेण्ट’
८ फागुन काठमाडौं । नेपाल वायुसेवा निगम र जापान एअरलाइन्सबीच व्यापार विस्तारका लागि द्धिपक्षीय सम्झौता भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समयदेखिको निरन्तर समन्वय तथा वार्ताबाट दुई मुलुकको राष्ट्रिय ध्वजावाहकबीच ‘इन्टरलाइन पार्टनरसिप एग्रीमेण्ट’ सम्पन्न भएको हो ।
सम्झौताअनुसार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडानमार्फत निगमको जहाजमा र त्यहाँबाट छोटो तथा छिटो कनेक्टिङ फ्लाइटमार्फत अमेरिका, पश्चिमा मुलुक तथा दक्षिण कोरिया जान सकिने छ ।
नेपाल वायुसेवा निगमको टिकटबाट जापान एअरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरका अन्तिम गन्तव्यसम्मको लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुनेछ । सोही नेटवर्क हुँदै विश्वभरका पर्यटकहरुले सहज रुपमा नेपाल भ्रमण गर्न सक्ने निगमको जिकिर छ ।
यसबाट निगमको व्यापार विस्तार हुनुको साथै मुलुकको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ । त्यसैगरी, यसले यात्रा सहज तथा किफायती हुने, विश्वभरका विभिन्न मुलुक एवं जापानको विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा पाउन सकिने छ ।
निगमका अनुसार सो सम्झौतासहित २५ वटा एअरलाइन्ससँग ‘प्यासेन्जर इन्टरलाइन पार्टनरसिप एग्रीमेण्ट’ भएको छ । त्यस्तै, ‘कार्गो इन्टरलाइन पार्टनरसिप एग्रीमेण्ट’ गर्ने एअरलाइन्सको संख्या २८ पुगेको छ ।