हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ – प्रधानमन्त्री
१६ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन्।
सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार-सरकार र जनता-जनताबीचको लामो सम्बन्ध अब आयात-निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन्।
उनले भने, ‘नेपालीहरू राम्रो रोजगारीका लागि जापान पनि गएका छन्। नेपालको फापर जापान पुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरू छन् । हामीबीच अबल मित्रता छ । खाली मित्रताबाहेक अरू केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।’